राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण
काठमाडाैं | पुस २७, २०७९
तस्बिर साभार
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गर्नुभएको छ ।
बुधबार पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीका अवसरमा सिंहदरबार पश्चिम मूलढोकाअघि रहेको सालिकमा राष्ट्रपति भण्डारीले पुष्पहार एवम् माल्यार्पण गर्नुभएको हो । पृथ्वी जयन्तीका अवसरमा उहाँप्रति श्रद्धाभाव प्रकट गर्न सिंहदरबार पश्चिम मूलढोकाअघि मानिसको भीड लागेको छ ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाजलगायतको सहभागिता छ । विश्व हिन्दू महासङ्घ, विश्व हिन्दू परिषद्लगायत संस्थाका प्रतिनिधिको पनि भीड लागेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि यस अवसरमा भृकुटीमण्डपबाट सिंहदरबार पश्चिम मूलढोकासम्म र्याली निकालेको छ । ¥यालीसहित राप्रपाले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेको छ ।
जयन्तीका अवसरमा बाजागाजा, शङ्ख, घण्ट ध्वनिले पश्चिम मूलढोकाअघिको क्षेत्र गुञ्जायमान भएको थियो । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।
विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह तत्कालीन गोरखा राज्यको राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गर्नुभएको थियो । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

